Homeकसरी गर्ने

सर, मलाई एउटा ब्लग खोलिदिनु न ! भन्नेहरुलाई जवाफ

nepalitechblog createम उही किसिमका म्यासेजहरु फेसबुकमा पटक पटक पाउँने गर्छु । ‘सर, मेरो लागि एउटा ब्लग बनाइदिनु न’, ‘ब्लग कसरी बनाउँने दाई ?’, ‘सर, मलाई एउटा ब्लग खोलिदिनु न !’ आदि आदि । मैले सकेसम्म सिक्न खोज्नेलाई जानेसम्म सिकाएकै छु । आफुले जानेका कुराहरु सिकाउँन रमाइलो हुन्छ । फरक फरक मानिसहरु नै किन नहुन् तर एउटै कुरा पटक पटक सिकाइरहदा भने झर्को लाग्ने मात्रा पनि बढ्दै जाने रहेछ । सोध्नेहरुले पनि अलिकति दुख गरेर गुगल गर्ने हो भने गजब गजबका भिडियो वा चरणबद्ध सिकाइका सामग्रीहरु पक्कै भेटिन्छन् । त्यसो गर्ने तिर ध्यानै नदिइ ब्लग चलाइरहेका अन्यलाई प्रश्न सोध्नेहरु वा प्रश्न सोध्न तयारी गर्दै गर्नु भएकाहरुका लागि यो ब्लग लेख्दैछु । अब कसैले ब्लग बनाउँन सिकाइदिनु भन्यो कि ‘लौ, सबै यसैमा छ, हेर्नुहोला ।’ भनेर लिंक दिने हो, सकियो ।

ब्लग के हो ?

नियमित अपडेट हुने वेबसाइट वा वेबपेजलाई नै ब्लग भनिने हो । सुरु गर्न एकदमै सजिलो (कोडिङ र प्रोग्रामिङ ज्ञान केहि नचाहिने) हुनाले ब्लगको संख्या एकदमै धेरै छ । रहरै रहरमा सुरु गर्ने र पछि छोड्ने अनियमित ब्लगरहरुको यतिका संख्यामा ब्लग हुनुमा ठुलो हात छ । लेखहरु, तस्विर, भिडियोहरु सजिलैसँग राख्न मिल्ने र संसार भरि नै हेर्न मिल्ने भएकाले ब्लग आजको युगको सशक्त मिडिया भएको छ । यसैले आफ्नो विचार तथा प्रतिभाको विकास र प्रसारका लागि पनि ब्लगिङ प्रयोग हुन्छ । यति मात्रै होइन, केहि मिहिनेत गर्ने हो भने राम्रै आम्दानी गर्न सकिने भएकाले यसप्रति लोभिन्छन् धेरै मानिसहरु ।

ब्लग त बनाउँने तर के को ?

ब्लग बनाउँने कसरी हो ? भन्ने प्रश्नलाई पछ्याउँदै धेरैजसो अर्को प्रश्न आउँछ – ब्लग त बनाउँने तर के को ? ब्लग बनाउँने कसरी भन्ने सम्म त सुझाव दिन सकिएला रे तर यसै बिषयमा ब्लग बनाउ, दामी हुन्छ भन्न कसैले सक्दैन । किनकि, ब्लगिङ गर्ने तपाईले आफ्नो खुबी, इच्छा, चासो र लक्ष्यका आधारमा हो । यसबारे तपाई आफैलाई भन्दा अरुलाई थाहा हुने कुरा नै भएन । यसैले ब्लग बनाउँनु भन्दा पहिले म कुन विषयमा पोख्त छु, कुन कुरामा मेरो चासो छ, कुन कुरामा म नियमित लेख्न वा भन्न सक्छु भन्ने कुरामा निक्यौल गर्नुहोस् । यसका लागि स्रोतसम्मको पहुँच, साधनहरुको उपलब्धता, समय आदि कुराको पनि याद गर्नुहोला । नत्र अर्काको कन्टेन्ट चोरेर त कति समय ब्लगिङ गर्न सकिएला र ! सामान्य कुरामा लेख्नुहोस् तर आफ्नै कौशलले लेख्नुहोस् । तपाई जे सुकै बिषयमा ब्लग लेख्न र बनाउँन सक्नुहुन्छ । यस्तै बनाउँछु भनेर कसैलाई वा कुनै साइटलाई आदर्श भने मान्न सक्नुहुन्छ । तर फेरि पनि, ब्लगका लागि बिषयको छनौट सबैभन्दा मुख्य हुन्छ ।

यो सबै कुरा म ति साथीहरुलाई भन्दैछु जो व्यवसायिक ब्लगर बन्ने वा ब्लगिङ गरेर पैसा कमाउँने सोच्दै हुनुहुन्छ । यदि तपाईलाई आफ्ना कुरा राख्नु मात्रै छ अनि पैसा कमाउँनु छैन भने यो माथि पढेको सबै बिर्सिदिदा हुन्छ । ढुक्कले लेख्नुहोस् । तपाईले आफुले लेखेका कुरा मज्जाले संग्रह गर्न र बेलामौकामा देखाउँन यो सजिलो उपाय हुन्छ ।

अर्को कुरा, आऽऽऽ लेखिहालिन्छ भन्ने लाग्छ भने सोही बिषयमा १० वटा जति लेखहरु तयार पार्न थाल्नुहोस् । थाहा भइहाल्छ, तपाईको ब्लगको बिषयले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने ।

ब्लगको बिषय पनि भयो, त्यसपछि ?

जब तपाईले ब्लग यो बिषयमा लेख्छु भनेर टुंगो गर्नुहुन्छ तब आउँछ ब्लग वा बेवसाइटको नाम के राख्ने भन्ने ? यसका लागि पहिले नै एउटा ब्लग लेखिसकेको छु । कृपया यो लिंकमा गएर हेर्नुहोला ।

वेबसाइटको नाम कसरी राख्ने ?

नामको टुंगो पछि होस्टिङ चाहियो

ब्लग वा वेबसाइट के बिषयमा बनाउँने र के नाम राख्ने भन्ने निर्क्यौल गरिसकेपछिको चरण हो, होस्टिङको ।

यदि तपाई ब्लगस्पटमा ब्लग बनाएर त्यसलाई आफुले चाहेको डोमेनमा रिडाइरेक्ट गर्न चाहनुहुन्छ भने छुट्टै होस्टिङको आवश्यकता पर्दैन । यो किफायती त हुन्छ तर व्यवसायिक प्रयोजनका लागि भने यो राम्रो विकल्प हो भन्ने मलाई लाग्दैन । यसका बारेमा छुट्टै ब्लग लेख्नेछु, जानकारी पाउँन हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

यदि तपाई वर्डप्रेस सिएमएस प्रयोग गर्न चाहनु हुन्छ भने वर्डप्रेस होस्टिङका लागि होस्टग्याटर, ब्लुहोस्ट र आइपेज मेरो सिफारिसमा पर्छन् । थप जानकारीका लागि पढ्नुहोला – वर्डप्रेस ब्लग वा वेबसाइट होस्ट गर्न कुन हो सस्तो र राम्रो होस्टिङ ?

सित्तैका होस्टिङका बारेमा थाहा हुनेहरुलाई लाग्न सक्छ, किन किन्ने होस्टिङ ? जब कि सित्तैमा ब्लग चलाउँन पाइने साइटहरु धेरै छन् । हो, वर्डप्रेस, ब्लगस्पट जस्ता साइटहरुबाट सित्तैमा ब्लग चलाउँन सकिन्छ । गुगल नै गर्ने हो भने पनि डोमेनमा तिनको नाम नघुसाई सित्तैमा होस्टिङ चलाउँन दिने साइटहरु पनि टन्नै भेटाइन्छन् । यति सजिलो हुँदा हुँदै पनि पैसा खर्च गरि गरि मानिसहरु किन किन्छन् होस्टिङ ? यसबारे जानकारी नै नभएर त पक्कै होइन । पैसा सस्तो भएर त झन् हुँदै होइन । खासमा कारण यस्तो हो, पढ्नुहोला यो – किन किन्ने होस्टिङ ?

अब अन्तिममा डिजाइन (थिम/टेम्प्लेट)

ब्लग वा वेबसाइट बनाउँने भन्ने बित्तिकै डिजाइनको कुरा आइहाल्छ । अहिले गुगलले सर्च नतिजामा देखाउँनका लागि डिजाइनलाई पनि एउटा मुख्य पक्षका रुपमा लिएपछि डिजाइनको महत्व अझ बढेको छ । सामान्यतया, डिजाइनले ब्लग आकर्षक बनाउँनेमात्रै होइन, यसले वेबसाइट खुल्न लाग्ने समयमा पनि फरक पार्छ र अन्य निकै कुराहरुमा यसको प्रभाव देखिन्छ । यसैले थिम वा टेम्प्लेट छान्दा केहि कुराहरु ध्यानमा राख्नु पर्ने हुन्छ, जस्तै अत्याधिक कोडहरु प्रयोग गरिएको छ कि छैन, रेस्पोन्सिभ हो कि होइन, अपडेट कतिको उपलब्ध हुन्छ आदि आदि ।

सित्तैमा पाइने धेरै थिम वा टेम्प्लेटहरुमा पनि यस्ता धेरै कुराहरु याद गरेर राम्रा र सजिला बनाइएका हुन्छन् । तर साँच्चै भन्ने हो भने उत्कृष्ट थिम वा टेम्प्लेट पाउँन केहि खर्च गर्न आवश्यक भने हुन्छ । वर्डप्रेसका लागि सस्तो र राम्रो थिम किन्नका लागि यो साइट उपयुक्त हुन्छ – यहाँ क्लिक गर्नुहोला

अन्त्यमा,

बुँदागतरुपमा भन्दा ब्लग वा वेबसाइट बनाउँन चाहिने कुराहरु : १. बिषय २. डोमेन ३. होस्टिङ ४. डिजाइन ।

माथि उल्लेखित कुराहरु तपाईले प्राप्त गरिसक्नु भयो तर इन्सटलेसनको समस्या छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ । अथवा, इन्टरनेटमा पैसा तिर्नका लागि आवश्यक कुराहरु नभएर अफ्ठ्यारोमा हुनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला । सकेको सहयोग गरौला ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)