Homeकसरी गर्ने

फेसबुकको फोटो वास्तविक हो कि झुटो, कसरी थाहा पाउँने ?

कुनै अमुक लक्ष्यका साथ सम्पादन गरिएका अथवा फरक ठाउँ वा फरक समयको फोटोलाई सेयर गरेर नकारात्मक सन्देश फैलाउँनेहरुको बिगबिगी छ सामाजिक साइटहरुमा । नजानेर वा नियतवश सेयर गरिने यस्ता फोटोहरुले हेर्नेलाई मानसिक आघात पुर्याउँछ नै, सामाजिक सद्भाव खल्बल्याउँने डर पनि हुन्छ । एकपटक आफ्नो फेसबुकको टाइमलाइन विचार गर्नुस् त, मलेसियामा नेपालीहरुलाई यसो गरे भनेर हेरिनसक्नुकाे दर्दनाक फोटो छ कि छैन ? फलानो ठाउँको भनेर मनै लोभ्याउँने फोटो छ कि छैन ? फलानो पार्टीका कार्यकर्ता भनेर बेइज्जत गरेर राखिएको फोटो छ कि छैन ? भर्खरैको कैलाली घटनाको फोटो भनेर डरलाग्दा फोटोहरु छन् कि छैनन् ? पक्कै पनि छन् होला ।

अरुभन्दा बढि थाहा छ भन्ने जनाउँन अथवा मन परेर वा अन्य कुनै कारणले यस्ता फोटोहरु अत्यन्तै धेरै मानिसहरुले सेयर गर्ने गर्छन् । प्रबिधिको सरलताले (वेबसाइट वा ब्लग बनाउँन गाह्रो छैन – पढ्नुहोस् ) अहिले त च्याउसरि खुलेका अनाधिकृत र झुटा साइटहरुले साइटको पेज भिजिट बढाउँन पनि यस्ता अतिरञ्जित गरिएका तस्विरहरु सेयर गर्ने गर्छन् । तपाई यस्ता फोटोहरु सेयर गर्नु हुन्छ कि हुन्न ? फोटो हेर्दा यो फोटो वास्तविक हो या झुटो हो भन्ने तिर ध्यान दिनु हुन्छ कि हुन्न ? थाहा पाइराख्नुहोस्, इन्टरनेटमा भएका सबै कुरा सत्य हुदैनन् ।

यसैले यहाँ इन्टरनेटमा भएका फोटोहरु वास्तविक हुन् कि झुटा हुन् भनेर थाहा पाउँने सजिलो तरिका सिकाउँदैछु । यदि तपाई नजानेर त्यस्ता फोटोहरु सेयर गर्नुहुन्छ र फोटोको वास्तविकता थाहा पाउँन चाहनु हुन्छ भने तपाईलाई यो पोस्ट उपयोगी हुन सक्छ । तर नियतवश मानिसहरुलाई तर्साएर रमाउँन, भ्रम फैलाउँन वा अन्य नकारात्मक सोचाइले त्यस्ता फोटोहरु सेयर गर्नुहुन्छ भने कृपया तपाईलाई नैतिक शिक्षा वा मानसिक परामर्शदाताको खाँचो छ, तपाई मुर्ख वा रोगी हुनुहुन्छ, अरुले तपाईको उपचार गर्नु अगाडी नै आफ्नो उपचार तिर लाग्नुहोस् ।

फेसबुकको फोटो वास्तविक हो कि झुटो भन्ने थाहा पाउँन गर्नु पर्ने कार्यहरु

१. फोटोको लिंक कपि गर्नुहोस्

क. तपाईलाई वास्तविक वा झुटो हो भनेर थाहा पाउँनु पर्ने फोटो कुनै वेबसाइटमा छ भने त्यो फोटोको लिंक कपि गर्नुहोस् । फोटोको लिंक कपि गर्नलाई जुन फोटोको लिंक चाहिने हो त्यसमा राइट क्लिक गर्नुहोस् र त्यसपछि खुल्ने बक्सको Copy Image URL मा क्लिक गर्नुहोस् । लिंक कपि हुन्छ ।

how to copy photo url

ख. फेसबुक लगायतका कतिपय सामाजिक साइटहरुमा भएको प्राइभेसी पोलिसीका कारण फोटोहरुको लिंक कपि गर्न सकिए पनि फोटोको वास्तविक थाहा पाउँन सकिदैन । यसैले यस्ता फोटोहरु या त डाउनलोड गर्नुहोस् या त्यो फोटोको स्क्रिन सट लिनुहोस् ।

२. Google.com मा गएर दाहिने पट्टीको माथिल्लो भागमा रहेको Images मा क्लिक गर्नुहोस् ।

google image use
या सोझै यो लिंकमा क्लिक गरे पनि हुन्छ – गुगल इमेजको लिंक (लिंक नयाँ ट्याबमा खुल्नेछ ।)

३. त्यसपछि तपाई पुग्ने पेज तलको फोटोमा जस्तै देखिने छ । फोटोमा देखाइए झैँ क्यामेराको चिन्हमा क्लिक गर्नुहोस् ।

camera logo on google

४. त्यसपछि तपाईले दुइवटा उपायहरु देख्नुहुनेछ ।

पहिलो, तपाईले माथि १. क को तरिकाबाट कपि गरेको लिंक त्यहाँ पेस्ट गर्न सक्नुहुनेछ । दोस्रो, तपाईले १. ख मा भनिए जस्तै डाउनलोड गरेको फोटो अपलोड गर्न सक्नुहुनेछ । फोटो अपलोड गर्न दोस्रो विकल्प छान्नुहोस् र Choose File मा क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने ‘पप अप बक्स’ मा आफुले डाउनलोड गरेको फोटो छानेर Choose मा क्लिक गर्नुहोस् ।

त्यसपछि फोटो अपलोड हुन्छ र गुगल इमेजले त्योसँग सम्बन्धित पहिले प्रकाशित जानकारी देखाउँछ । प्रकाशित मिति हेरेर वा जानकारी पढेर तपाईले सो फोटोको वास्तविकता थाहा पाउँनु हुनेछ । उदाहरणका लागि, मैले नेपाल टेलिकमले दशौँ बार्षिकोत्सवको अवसरमा एन्ड्रोइड एप सार्वजनिक गर्दाताकाको फोटो अपलोड गरेर जाँचेको थिए, जसलाई यसरी देखायो । अब यही फोटो कसैले अन्य प्रयोजनका लागि देखायो भने म सहजै यो नेपाल टेलिकमको फोटो हो भन्न सक्ने भएँ ।

photo detail from google image search

फोटोको वास्तविकता पत्ता लगाउँने यो सजिलो उपाय हो । तपाईलाई कस्तो लाग्यो ? सहि हो र उपयोगी लाग्छ भने कृपया प्रयोग गर्नुहोला र सामाजिक साइटलाई सकेसम्म स्वच्छ बनाउँन सहयोग गर्नुहोला । थप मानिसहरुलाई जानकारी दिन यो पोस्ट सेयर गर्न सक्नुहुन्छ । यदि कसैले यसलाई कपि गरेर आफ्नो ब्लग वा वेबसाइटमा राख्न चाहनु हुन्छ भने तपाईको पोस्टमा यो साइटको स्रोत खुलाएर लिंक राखिदिए खुसी लाग्नेछ । यो पोस्ट हेरेर सिकेर तपाई एकजनामात्रले पनि फेसबुकको कुनै पनि झुटो फोटो पत्ता लगाएर त्यसमा वास्तविक फोटो वा लिंकसहित कमेन्ट गर्नु भयो भने मैले लेख्नुको अर्थ प्राप्त हुन्छ । धन्यवाद ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (2)

  • by reading this blog even a beginner in computer can also understand and perform. i like the way it explains. people generally do not willing to share knowledge which he acquires from different sources. in this regard u r exception. thanks ganesh ji.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)